धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो
म्याग्दी | असोज २, २०८१
बेनी: मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरि आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ ।
सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ । यहाँबाट हिमाल नजिकै रहेकाले धौलागिरि आइसफल नयाँ पर्यटकीय गन्तव्य बनेको पहिलो पटक उक्त क्षेत्रमा पुग्नुभएका म्याग्दीका पथ प्रदर्शक सुरेन गुरुङले बताउनुभयो ।
“छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो रहेछ, वरिपरी हिमालै हिमाल भएकाले त्यसले मनै लोभ्याउँछ । हिमालको टुप्पोबाट नीरन्तर खस्ने हिउँको दृश्यले जो कोहीको पनि मन लोभिन्छ”, उहाँले भन्नुभयो । पदमार्ग र आइसफल क्षेत्रमा पशुपक्षिको पनि अवलोकन गर्न सकिने भएकाले सो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्य बन्नसक्ने गुरुङको भनाइ छ ।
समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । थासाङको ह्याण्डिङ डाँडाको बुकी पाटनबाट धौलागिरि र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।
असोजदेखि कात्तिक र फागुनदेखि असारसम्म आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेको चौरीगोठका हेरालु सिंहबहादुर तामाङले बताउनुभयो । पैदलयात्रा गरेर ह्याण्डिङडाँडा आउने पर्यटकले चौरीलाई नजिकबाट नियाल्ने गरेका उहाँको भनाइ छ ।
थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरि आइसफल क्षेत्रमा जाने पर्यटकले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् । पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटक टाङछारा क्षेत्रमा रहेका होटलमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनः फर्कने गर्छन् ।
बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरि आइसफल मुस्ताङ घुम्न आउने पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीय होटल व्यवसायी राजु गौचनले बताउनुभयो ।
उहाँले मुस्ताङ भ्रमणमा आउने पर्यटक अधिकाँश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेका बताउनुभयो । जिल्लाभित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको उहाँले बताउनुभयो । टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ ताल समेत पर्यटकका लागि आकर्षणको रुपमा रहेको छ ।
उक्त पदमार्गमा पर्यटकको सुविधाका लागि पदमार्गसँगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ । सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा सूचना पोल समेत राखिएका छन् । आइसफल क्षेत्रबाट मुस्ताङका विभिन्न बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजको दृश्यसमेत निकै आकर्षक देखिन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

